संविधानसभाको अवसानलाई दुःखद्, अस्वाभाविक, अनपेक्षित भन्नु नेपालमा चलाइएका थुप्रै भ्रमपूर्ण प्रचारका शृंखला र त्यस्ता भ्रमपूर्ण प्रचारबाजीबाट दिग्भ्रमित व्यक्तिहरुका कोकोहोलोको अर्को कडी मात्र हो।अनैतिक, अकर्मण्य एवं असफल ठहरिई स्वतः मृत्युवरणका लागि बाध्य भएको संयन्त्रको अवसानमा शोकाकुल हुनु आवश्यक छैन।वास्तवमा संविधानसभाको अवसानसँगै नेपालले ऐतिहासिक गल्तीलाई सच्याउने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउने अवसर पुनः पाएको छ।
सिद्धान्ततः संविधानसभाजस्तो संस्थालाई लोकतान्त्रिक पद्धतिको स्वाभाविक अवयव मान्न सकिने भएतापनि नेपालको हकमा यो एक ऐँजेरु भएको तथ्यलाई बिर्सनु हुँदैन।नेपालमा संविधानसभाको माग नेपाली जनमानसको मौलिक सोच नै थिएन, प्रत्युत यो त विक्रम संवत्को एक्काइसौं शताब्दीको पहिलो दशकमा (वि.सं. २००७ का आसपासमा) विदेशी (नेहरु शासित भारत) ले थपिदिएको ‘पासो’ थियो।सात सालको युगान्तकारी परिवर्तनको नेतृत्वकर्ता नेपाली कांग्रेसले अचेल माओवादीको प्रचण्ड-प्रचारतन्त्रले व्याकुल भएर “संविधानसभा त सात सालमै हाम्रो एजेण्डा थियो” भन्ने गरेको भएतापनि त्यतिबेलाको ऐतिहासिक तथ्यलाई दृष्टिगत गर्दा संविधानसभा कांग्रेसको मौलिक माग नभई भारतीय संस्थापन पक्षको अभीष्ट सिद्धि गर्ने जाल भएको उजागर हुन्छ।यस यथार्थलाई टङ्कप्रसाद आचार्य र वीपी कोइरालाजस्ता नेताहरुले चाँडो वा ढिलो बुझेको देखिन्छ।सुरुका केही वर्षहरुमा संविधानसभाको माग राखी कांग्रेसले आन्दोलन नगरेको होइन, तर जब यस मुद्दाका पछाडि विद्यमान विदेशी चक्रव्यूहलाई कांग्रेसले बुझ्यो तब नेपालको राजनीतिक परिदृश्य बदलियो।यसरी विदेशीको ‘मास्टरप्लान’ अन्तर्गत बीजारोपण गरिएको संविधानसभारुपी पासोलाई तत्कालीन नेतृत्वको समझदारीका कारण केही वर्षभित्रै इतिहासको रछ्यानमा मिल्काइएको थियो।
![]() |
निर्मलमणि अधिकारी (vedicbrahman@gmail.com) |
कालान्तरमा संसदवादी, राजावादी र माओवादीको सत्ता-द्वन्द्वबाट आजित नेपाली जनमानसमा व्याप्त निराशा, आक्रोश र भयको बुई चढेर संविधानसभाको मुद्दा बौरियो।माओवादीले भन्ने गरेको जनयुद्ध नेपालमा उब्जेको स्वाभाविक परिघटना मात्र थिएन भन्न अब हिच्किचाउनु पर्दैन।एक नेपाली लोककथामा वर्णन गरिएझैं आफूले बाँसलाई नुगाइदिएको भ्रममा रमाइरहेको फिस्टो चरोजस्तै मूर्ख बन्ने भए बेग्लै कुरा, नत्र संविधानसभा माओवादीको बलले मात्र स्थापित भएको थिएन भन्ने तथ्यलाई नस्वीकारी धरै छैन।संविधानसभा प्रकटरुपमा कथित जनयुद्धको सञ्चालक माओवादीको प्रमुख ‘एजेण्डा’ भएतापनि प्रच्छन्नरुपमा संविधानसभा सारतः भारतीय (सोनिया गान्धी नेतृत्वको) संस्थापनपक्ष र वैश्विक इसाई मिसनरीको सहकार्यबाट संरचित चक्रव्यूह (ग्राण्ड डिजाइन वा गेमप्लान) को एक अवयव थियो।
तत्कालीन राजा महेन्द्र र टङ्कप्रसाद आचार्य र वीपी कोइरालाजस्ता नेताहरु अहिले छैनन्, तथापि उनीहरुका समयमा जस्तै संविधानसभाको जालबाट उम्कने परिस्थिति नेपालीका सामुमा पुनः खडा भएको छ।पराईहरुले उनीहरुका स्वार्थलाई वैधानिकताको लेप लगाएर संस्थानीकरण गर्न थपिदिएको संविधानसभारुपी ‘पासो’ बाट उम्किनु इतिहासको यो घडीमा अर्को अवसरको द्योतक हो।’विदेशी’/'विधर्मी’हरुको चक्रव्यूहमा नजेलिई, राष्ट्रिय स्वाधीनतालाई सुदृढ पार्दै अगाडि बढ्नका लागि जुन अवसर हामीलाई प्राप्त भएको छ, त्यसलाई सदुपयोग गर्नु पर्छ।नेपाललाई पुनः संविधानसभाको चुनावरुपी खाल्डोमा खागार्नु हुँदैन।संविधानसभाको अवसानपछि फेसबुक र ट्वीटरजस्ता संजालमा जे जसो भनिएतापनि जनसामान्यले कुनै विशेष दुःखमनाउ नगरेर बुद्धिमानी नै देखाएका छन्।
0 comments
Post a Comment